बैशाख ३१ बुधबार ।
इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट अन्य धेरै जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई वटा अस्पतालमा आक्रमण भएको बीबीसीले जनाएको छ ।गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको छ ।
इजरायली सेनाले गाजामा रहेका अस्पतालहरूमा निरन्तर आक्रमण गरिरहेको छ ।पछिल्लो केही दिनदेखि त्यहाँ सहायता सामग्री वितरणमा पनि समस्या भइरहेको छ । खानेपानी, औषधि र टेन्टको व्यवस्था गर्न नसकिएको संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले बताए।उनले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने जोड दिएका छन ।
अमेरिकाको न्युयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरूमाथि अवरोध गरेको बताएका छन ।इजरायलले राष्ट्रसङ्घसहित सम्पूर्ण अन्तर्राष्ट्रिय निकायलाई बेवास्ता गर्दै आफैँले नयाँ निकाय गठन गर्दै राहत वितरण गर्ने प्रस्ताव राखेको छ । तर राष्ट्रसङ्घले यो प्रस्ताव स्वीकार गरेको छैन ।




