ओडिशा सरकारको उच्चस्तरीय समितिले किट संस्थापकलाई बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

ओडिशा सरकारको उच्चस्तरीय समितिले किट संस्थापकलाई बोलायो

फागुन ०९ शुक्रबार
छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी किटका संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ ।

उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ ।’ समितिले प्रमाणको रूपमा पर्याप्त कागजातहरू पेस गर्न सामन्तलाई भनेको छ ।
गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

आत्महत्याको परिस्थिति, संस्थानका अधिकारीहरूले गरेको मनमानी कारबाही, विद्यार्थीहरूको विशेष समूहलाई मात्र सूचना जारी गर्ने, उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने र अन्य सम्बन्धित मामिलाहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । यसअघि समितिले बुधवार किटको भ्रमण गरेको थियो ।

यस क्रममा समितिका सदस्यहरूले प्रकृति लम्सालको आत्महत्या प्रकरणमा क्याम्पसमा विरोध गर्दा त्यहाँका कर्मचारीहरूको दुर्व्यवहारमा परेका नेपाली विद्यार्थीहरूसँग कुराकानी पनि गरेका थिए ।उच्चस्तरीय समितिलाई यस विषयमा छानबिन गर्न जो कोहीलाई पनि बोलाउने अधिकार छ । समितिले कानुनको आधारमा काम गरिरहेको छ’ उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजले भने ।

प्रदेश सरकार विद्यार्थीहरूको हितको रक्षा गर्न प्रतिबद्ध भएको पनि उनले बताएका थिए । प्रदेश सरकारले नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गरेको र घटनाका बारेमा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराएको पनि बताइएको छ ।

२० वर्षीय प्रकृति लम्सालको आत्महत्यापछि किटमा हङ्गामा भएको थियो । नेपाली विद्यार्थीहरूले घटनाको विरोध गर्दै न्यायको माग गरेका थिए । विरोध प्रदर्शनबाट आक्रोशित किट व्यवस्थापनले करिब हजार नेपाली विद्यार्थीहरूलाई निलम्बन गरेको सूचना जारी गरी सोमबार नै क्याम्पस छोड्न आदेश दिएको थियो ।

आरोपी हिरासतमा
छात्रालाई आत्महत्या गर्न उक्साएको आरोपमा २१ वर्षीय इन्जिनियरिङ छात्रलाई पक्राउ गरिएको प्रहरी आयुक्त एस देवदत्ता सिंहले बताएका छन् । आरोपीलाई प्रहरीले तीन दिनको हिरासतमा लिएको छ ।प्रकृतिको मृत्यु भएको केही घण्टापछि आइतबार साँझ शहरबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा ती छात्रलाई बिजू पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । उनीमाथि प्रकृतिलाई ब्ल्याकमेल गरेको र दुर्व्यवहार गरेको आरोप छ ।

थप पाँच कर्मचारी पक्राउ

यसैबिच, नेपाली विद्यार्थीहरूमाथि आक्रमण गरेको आरोपमा ओडिशा प्रहरीले बिहीबार किटका थप पाँच कर्मचारीहरूलाई पक्राउ गरेको छ । संस्थानको निर्देशनपछि होस्टेल खाली गर्दै गर्दा आक्रमण भएको थियो । योसँगै किट विवादमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको छ, जसमा एक इन्जिनियरिङ छात्र पनि छन् ।

Leave a Reply