एमाले इलामको अधिवेशन आज सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

एमाले इलामको अधिवेशन आज सुरु हुँदै

२०८१,७,२९

नेकपा एमाले इलामको ११औँ जिल्ला आजदेखि सुरु हुँदैछ। सदरमुकाममा दुई दिनसम्म चल्ले अधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी बढेको छ। यो अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिव दुई गरी पाँच पदाधिकारीका लागि निर्वाचन हुनेछ। यस्तै, बढीमा एकसय २५ जनाको जिल्ला कमिटी गठन हुने एमाले पदाधिकारीको भनाइ छ।

एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष महेश बस्नेत र अर्का पूर्वअध्यक्ष राम रानाका फरक–फरक समर्थक तथा जिल्ला तहका नेताहरू पदाधिकारीको पाँचवटा पदमा आ–आफ्नो मौखिक दाबी प्रस्तुत गरेका छन्। केही नेताहरूले गुट बनाएर उम्मेदवारी दिने भएका छन्।

यस पटक अध्यक्ष पदका लागि अहिले अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेश बराल, नरेन्द्रनाथ भट्टराई र डा देवी क्षेत्री दुलालले उम्मेदवारी दिने बताएका छन्। ११ औँ अधिवेशन आयोजक कमिटी अध्यक्ष बराल कोशी प्रदेश कमिटी सदस्य हुन भने पार्टीको जिल्ला सचिव भइसकेका छन्।

अध्यक्ष पदका अर्का उम्मेदवार नरेन्द्रनाथ भट्टराई अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य र लामो समयदेखि एमाले जिल्लाको राजनीतिमा सक्रिय छन्। विगतमा पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौँ जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित भएका थिए।

दशौँ अधिवेशनमा अध्यक्षमा पराजित डाक्टर देवी क्षेत्री दुलालले यस पटक पनि अध्यक्षका लागि आफ्नो उम्मेदवारी रहने बताइन्। आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्न सोही पदका अन्य आकाङ्क्षीसँग छलफल भइरहेको दुलालको भनाइ छ। सर्वसम्मत नभए आफू निर्वाचनमा नजाने उनको भनाइ छ।

उपाध्यक्ष पदमा चार जना उम्मेदवारहरू छन्, जसमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, उमेश गुरुङ, बुद्धिप्रसाद खनाल, र रमेश राई प्रमुख प्रतिस्पर्धीका रूपमा उभिएका छन्।

सचिव पदका लागि हालका उपसचिव रवीन्द्र सुवेदी र प्रकाश अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। उपसचिव पदमा भने नौजना उम्मेदवार मैदानमा रहेका छन्, जसमा हेमन्त राई, दिलकुमारी लिम्बू, सरु राई, विष्णुमाया भुजेल, विष्णुमाया आचार्य, छवि श्रेष्ठ, प्रेम लिम्बू, यामयावरा थुलुङ, र मनकुमार बराइली छन्।

अधिवेशनमा पाँच सय ८३ जना प्रतिनिधि छानिएका छन्। यी प्रतिनिधिहरू जिल्लाका ८१ वडा, २१ जनसंगठन र पेशागत संगठन, तीन इलाका शाखा र एउटा विशेष वडा कमिटीबाट चयन गरिएका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);