देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लाग्यो चार वटा प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लाग्यो चार वटा प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना

२०८१,६,१५
काठमाण्डौ उपत्यकासहित देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, मधेश र बाग्मती प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली नै छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका केही ठाउँ, बाग्मती र गण्डकी प्रदेशका पहाडी थोरै ठाउँ र बाँकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलिदेखि चार वटा प्रदेश कोशी, मधेश, बाग्मती र गण्डकीमा पानी पर्ने अनुमान छ । भोलिदेखि शनिवारसम्म नै कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो अवधिमा वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीवारदेखि भएको घनघोर वर्षाका कारण जनधनको क्षति भएको छ ।

साधारणतया भोलिदेखि मनसुन बाहिरीने अवधि भए पनि केही दिन अझै लम्बिने सम्भावना छ । मुख्य पर्व दशैँसम्म नै पानी पर्ने सम्भावना रहेकाले सकेसम्म यात्रा नगर्न र गर्नेपर्ने अवस्थामा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

Leave a Reply