काठमाडौं,१५ फागुन । टि २० त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान साढे एघार बजे किर्तिपुर त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ पछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि २० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यो श्रृंखला जुनमा हुने टि२० विश्वकप क्रिकेटको तयारीको रुपमा रहेको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि२०आई टोलीमा छैनन् । प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन् । नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ । नेदरल्यान्ड्सले टोलीमा केही परिवर्तन गरेको छ ।