स्तरोन्नतिको पर्खाइमा लिमी लाप्चा सडक | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

स्तरोन्नतिको पर्खाइमा लिमी लाप्चा सडक

हुम्ला, १६ माघ ||
ट्रयाक्क खोलेको १० वर्ष भईसक्दा पनि हुम्लाको लिमी–लाप्चा सडक खण्ड अझै स्तरोन्नति हुन सकेको छैन । चीनसँग सीमा जोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाको लाप्चा–केरमी सम्मको बाटोको ट्रयाक २०७० सालमा नै खोलिएको हो । एक दशक भइसक्दा पनि सडकको अवस्था उस्तै छ । मौसमी पर्यटकले भाडामा प्रयोग गर्ने जीप बाहेक सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुँदैनन् । स्थानीयले प्रयोग गर्दै आएको पैदलबाटोलाई नै आधार मानेर २०६७ सालको भदौमा मोटर बाटो खन्न शुरु गरिएको थियो । जनश्रमदान र ब्रेकर बिनाको डोजरको सहायतामा ४ बर्ष लगाएर लाप्चा –केरमी सम्मको ७८ किलोमिटर सडक खण्डको ट्रयाक खोलिएको थियो । तात्कालिन समयमा बाटो बनाउने कामको जिम्मा लिएका स्थानीय समाजसेवी मंगल लामा निकै दुखको साथ ट्रयाक खोल्ने काम भएपनि त्यसयता बाटोको स्तरोन्नतिमा कुनैपनि सरकारको ध्यान नपुग्दा स्थानीयहरु अझै पनि सार्वजनिक यातायात प्रयोगबाट वञ्चित हुनुपरेको गुनासो गर्छन् ।
सबै काम मान्छेले नै गर्नुपर्छ र मान्छेलाई नै लगाउनुपर्छ भन्ने मान्यता बोकेको तत्कालिन समयको त्यो समुदायले मान्छेले गर्ने काम मेसिनलाई दिए भनेर बिरोध गरे । लामा माथि आक्रमणको प्रयास गरियो । आफू माथि भएको आक्रमणलाई उनी ‘अशिक्षा’को संज्ञा दिन्छन् । उनी त्यो घटनालाई यसरी सम्झन्छन् ।
जसरी पनि मोटरबाटो खोल्ने एकसूत्रिए अभियानमा लागेका लामालाई कतिपय मान्छेहरुले बाटो आउनै सक्दैन भनेर भट्काउने गर्दथे । द्वन्द्वरत समय भएकाले बाटो निर्माणमा राजनीतिक अवरोध धेरै भयो । तर सडक यातायात नहुँदा स्थानीयले भोग्नुपरेको दुःख र पीडाले उनलाई जसरी पनि बाटो खोल्नुपर्छ भन्ने दबाब दिइरह्यो । आफैँले गरेको काम सम्झँदा अहिले उनलाई ‘कसरी गरेँ होला’ भन्ने लाग्छ । बाटो खन्ने मेसिन बिग्रिँदा १ लाख ५० हजार रुपैया तिरेर हेलिकोप्टरमा मिस्त्री ल्याउनुपरेको सम्झन्छन् उनी ।
बिना इजिनियरिङ्ग, बिना सर्वे खनेको बाटोमा झर्ने सुख्खा पहिरो लगायत अवरोधलाई २०६७ सालमा ल्याएको डोजरबाटै हटाउने गरिन्थ्यो । तर सो डोजर पनि ३ वर्षदेखि बिग्रिएर सल्लीमा थन्किएको छ । तुमकोटस्थित कर्णाली नदी तार्ने क्रममा बीचैमा मेसिन बिग्रियो । तान्ने उपकरणको अभावमा वर्षातको समयभर मेसिन कर्णाली नदीमा नै रह्यो । नदीमा पानीको सतह घटेपछि मेसिन पानी बाहिर त निकालियो तर बनाउन धेरै खर्च लाग्ने भएपछि अहिले सल्लीमा नै थन्किएको छ ।
कैलाश मानसरोवर दर्शन गर्ने र लिमी उपत्यका घुम्न जाने मौसमी पर्यटकले रिजर्भ गरेका बेला लिमी–लाप्चा सडक खण्डमा गाडी चलाउँदै आएका सवारी चालक तिलक खप्तडी मगर जोखिमपूर्ण सवारी चलाउनु परेको बताउँछन् । ट्रयाक मात्रै खोलिएको पहाडी बाटोमा पर्ने दर्जन बढी हिमखोलाहरुमा साँझमा पानीको सतह बढ्ने र बहाव दह्रो हुँदा गाडी नै बगाउने खतरा पनि हुने गरेको सम्झन्छन् ।
ट्रयाक खुलेपछि सार्वजनिक यातायात सञ्चालन हुने आशमा बसेका लिमीवासीहरु अहिले पनि पैदलयात्रा गरि सदरमुकाम आउन बाध्य छन् । चुनावका बेला मत माग्न गाउँ पुग्ने नेताहरु ५ वर्ष फर्किंदैनन् । मुलुकमा लोकतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, जनताका छोराछोरीले राज्य सञ्चालनको बागडोर समाते तर लिमीवासीको जीवनस्तरमा परिर्वतन आउन सकेको छैन । मुलुककै ठूलो उपत्यका लिमिवासी अहिले पनि सदरमुकाम सिमीकोट आउन एक साता लगाएर पैदल यात्रा गर्न बाध्य छन् । हिमपातका कारण वर्षमा ४ महिना मुस्किलले सवारी सञ्चालन हुने सो खण्डका बासिन्दाले कहिले चढ्न पाउलान् सार्वजनिक यातायात ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);