टीका खतिवडा ||
ईलाम, १३ माघ ||
इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्युरो टिम काठमाण्डौ ( एनआरटी) ले चुमेको छ ।
आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोल अन्तरले झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि आयोजकले सोझै पेनाल्टी सुटआउटबाट नतिजा लिएको थियो । विर्तामोड युनाइटेड झापा उपविजेता भएको छ ।
ट्राइवेकरमा एन आर टीका जय गुरुङ, समित श्रेष्ठ, प्रीसो, विवेक गुरुङले गोल गरे । विर्तामोडका योगेश गुरुङ, असिम जंग कार्की, र देवेन्द्र तामाङले गोल गरे । एन आर टीका राजिव लोप्चनको गोल विर्तामोडका गोल रक्षकले बचाएका थिए । भने विर्तामोडका एञ्जल गुरुङ र प्रदीप बुढाथोकीको गोल एन आर टीका गोल रक्षक पी्रसोले रक्षा गरेका थिए ।
बिर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए । आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेंलो कार्ड पाए ।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापा लगायतका अतिथिले बितरण गर्नु भएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडि विर्तामोडकै रोहन कार्की भए । प्रतियोगितामा धेरै गोल चार गोल गर्ने खेलाडी आयोजक रेडहर्ष टीमका नवयुग श्रेष्ठ पनि नगद दश हजार सहित पुरस्कृत भए । उत्कृष्ट प्रशिक्षक एन आरटीका हरि ओम श्रेष्ठ, उत्कृष्ट रक्षामंक्तीका खेलाडी विर्तामोडका संजीत राई, उत्कृष्ट मध्यपंक्तिका खेलाडि विर्तामोडकै योगेश गुरुङ, उत्कृष्ट स्ट्राइकर एन आर टीका राजिव लोप्चन, उत्कृष्ट गोलकिपर एन आर टीकै प्रीसो जनही नगद दश हजार सहित पुरस्कृत भए । गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो ।