काठमाडौं, ७ कात्तिक । घरेलु टोली नेपाल अन्तिम लिग खेलमा यूएईलाई हराउँदै अपराजित रहेर त्रिकोणात्मक टि२० क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । फाइनल पुगिसकेको नेपालले सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।
जितका लागि १ सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपालले आफ्नो टि२० क्रिकेट इतिहासमा पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य पनि हो । यसअघि नेपालले केन्याविरुद्ध सन् २०२२ मा १ सय ६० रनको लक्ष्य पूरा गरेको थियो । मुलपानी क्रिकेट मैदानमा नेपालका लागि ओपनर असिफ शेखले सर्वाधिक ६२ रोहित पौडेल ४७ तथा दीपेन्द्रसिंह ऐरीले १४ बलमा ६ चौकर १ छक्कासहित ३९ रन जोड्दै नेपाललाई जित दिलाएका हुन ।
नेपालले सुरुको ३ ओभरमै कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको विकेट गुमाएपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका हुन् । दीपेन्द्र र रोहितले पाँचौ विकेटका लागि १५ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै नेपाललाई जिततर्फ डो¥याएका हुन् । यसअघि पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोड्यो । यूएईका बसिल हमिद र वृत्य अरविन्दले ४५–४५ रनको योगदान दिए । अब सिरिजको फाइनल शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघि बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । नेपालको ४ खेलमा ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक छ । हङकङ अंकविहिन छ ।