एजेन्सी, १ कात्तिक । मंगलबार भारत–पाकिस्तान सीमामा पाकिस्तानी रेंजर्सले गोलीबारी गरेको थियो। जसमा दुई बीएसएफ जवान घाइते भएका छन्। बीएसएफ (सीमा सुरक्षा बल) पीआरओका अनुसार यो घटना बिहान ८ः१५ बजे अन्तर्राष्ट्रिय सीमामा भएको हो। घाइते बीएसएफ जवानहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
त्यसपछि अरनिया सेक्टरमा तैनाथ भारतीय सैनिकले पनि जवाफी कारबाही गरेका थिए । दुई देशबीच सन् २०२१ मा भएको शान्ति सम्झौतापछि युद्धविराम उल्लंघनको यो पहिलो घटना हो।
सेनाका अधिकारीहरूले भने, दुई बीएसएफ सिपाहीहरू बत्ती मिलाउन बिजुलीको पोलमा चढिरहेका थिए जब पाकिस्तानी रेंजर्सले गोली चलाएको थियो। यो क्षेत्र सीमानाबाट करिब ६० मिटर र सिमाना चौकी विक्रमबाट करिब १५०० मिटरको दूरीमा रहेको छ ।
भारत र पाकिस्तानले फेब्रुअरी २५, २०२१ मा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए। दुवै देशले जम्मू–कश्मीर र अन्य क्षेत्रहरूमा नियन्त्रण रेखा (एलओसी) मा युद्धविरामका सबै सम्झौताहरूलाई कडाईका साथ पालन गर्ने घोषणा गरे। त्यसपछि इस्लामाबाद र नयाँ दिल्लीमा जारी संयुक्त विज्ञप्तिमा यो घोषणा गरिएको थियो।
भारत र पाकिस्तानले सुरुमा सन् २००३ मा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेपनि पाकिस्तानले उक्त सम्झौताको उल्लंघन गर्दै आएको छ । सन् २०२० मा ५ हजारभन्दा बढी गोलीकाण्डका घटना भएका थिए जुन एक वर्षमा सबैभन्दा बढी हो।




