एजेन्सी, १ कात्तिक । इजरायल हमास युद्ध दिन प्रतिदिन खतरनाक बन्दै गएको छ । इजरायल भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ज्यान जोगाउन बंकरमा लुकेर बस्नुपरेको घटनाबाट युद्ध कति भयावह बनेको छ भन्ने अनुमान गर्न सकिन्छ । वास्तवमा रकेट आक्रमणबाट बच्नका लागि दुवै नेताले यो कदम उठाएका हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री नेतन्याहुबीच तेल अवीवस्थित रक्षा मन्त्रालयको कमाण्ड सेन्टरमा भेटवार्ता चलिरहेको थियो । त्यतिकैमा रकेट आक्रमणको साइरन बज्यो । दुवै नेता बैठक बीचमै छाडेर बंकरमा लुकेका थिए । दुवै नेता करिब पाँच मिनेटसम्म बंकरमा लुकेर बस्नुपरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने,“प्रधानमन्त्री नेतन्याहु र युद्ध मन्त्रिपरिषद्सँगको सचिवको बैठकमा हवाई आक्रमणको साइरन बज्यो र उनी पाँच मिनेटसम्म बंकरमा लुकेर बसे । “अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेन बुधबार इजरायलको भ्रमण गर्ने बताएका छन् । यस क्रममा उनले इजरायलसँग अमेरिकाको ऐक्यबद्धता दोहो¥याउनेछन्। यसबाहेक अमेरिकी राष्ट्रपति जोर्डन पनि जानेछन् ।
ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले पहिले इजरायल भ्रमण गर्ने बताएको छ। यहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् । यसपछि उनी जोर्डन जानेछन् । यहाँ उनले राजा अब्दुल्लालाई भेट्ने छन् ।




