काठमाडौं, १० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
त्यसैगरी, दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ।
यस्तै, आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।