हामी सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गयोः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

हामी सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गयोः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको स्वीकार गर्नुभएको छ ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको बताउनुभयो । सामन्तवादविरुद्ध बन्दुक बोकेर लडाइँमा गएको बेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको जस्तै भए पनि बीचमा अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले शान्ति, सहकार्य र एकताको सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो । देशमा आमूल परिवर्तन ल्याऔं भनेर सैद्धान्तिक रूपमा भन्ने गरे पनि व्यवहारमा जनताको दैनिकीमा परिवर्तन ल्याउन नसकिएको उहाँको भनाइ थियो । मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको भन्दै उहाँले गठबन्धनमा कुनै समस्या नभएको बताउनुभयो । यो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

उहाँले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार क्रियाशील रहेको भन्दै दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरपूर्ण हत्याकाण्ड भएको आरोप लगाउनुभयो । दाङको हापुरेमा सरकार र माओबादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);