काठमाडौं, २४ असार । प्रतिनिधि सभाको १ बजे बस्ने भनिएको बैठक २ घण्टा पछाडी सारीएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा बैठक ३ बजेका लागि सारिएको हो ।
प्रचण्डले सदन खुलाउनेबारे शीर्षनेताहरुसँग छलफल सुरु गरेका छन् । प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् ।
संसद सचिवालयको अनुसार आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ । त्यसैगरी, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने छन् ।
गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथिको दफाबार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
उक्त विधेयकमाथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । र, मन्त्रीले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।