काठमाडौं, २२ असार । नेपाली फिल्मका चर्चित अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् ।
ताम्राकार आफ्नै काठमाडौंस्थित रातोपुलमा रहेको घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा ताम्राकारको शव फेला परेको हो ।
अहिले उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।
‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।




