नक्कली भुटानी शरणार्थी प्रकरणः बयानमा कस्ले के भने ? | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणः बयानमा कस्ले के भने ?

बटुकराज गिरि । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलालले दिएको वयानले राजनीति तरंगित भएको छ । उनीहरुले वयानमा ककस्लाई कति रकम दिएको भन्ने पनि उल्लेख गरेका छन् । भण्डारी र दुलालसँगै अन्य हाइप्रोफाइलको वयानमा के छ ?

सुरुवातमा सबैले यो प्रकरणमा इन्कारी बयान दिएका छन् । थप बयानमा सानु भण्डारी र केशव दुलालले तत्कालीन गृहसचिव प्रेमकुमार राई र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई रकम बुझाएको उल्लेख छ । आरोपी सानु भण्डारीले थप बयानका क्रममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई छोरा निरजसहित भेटेर एक करोड ५० लाख रुपैयाँ नगद दिएको बताएका छन् । इन्द्रजितले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा एक करोड रुपैयाँ राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएको समेत उनले खुलाएका छन् ।

‘नगद रकम एक करोड रुपैयाँ गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्य कक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ, तपाईं जानु भनी प्रेमकुमार राईले मलाई भनेकाले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ’, सानुले भनेका छन् । उनले एमाले सचिव टोपबहादुर रायमाझीलाई २८ असार २०७६ मा सातदोबाटोस्थित घरमा एक करोड ६० लाख रुपैयाँ नगद दिएको बताएका छन् । अन्य बाँकी रकम ४० लाख छोरा सन्दीप रायमाझीलाई चेकबाट भुक्तानी पाउने गरी चेक काटिदिएको बताएका छन् । रायमाझीले आफू र परिवारलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै आश्वासन दिएको भण्डारीले बताएका छन् ।

सानुको बयानसँग केशव दुलालको बयान मिल्छ । उनले बादलले मन्त्री क्वार्टरमै रकम बुझेको दाबी गरेका छन् । ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतिक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाइ राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापालाई एक करोड दिएको वयानमा उल्लेख छ । दुलालले तत्कालीन गृहसचिव प्रेमकुमार राईले गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईमार्फत सचिवको कार्यकक्षमै बोलाएर २०७६ सालको साउनमा ३ करोड रुपैयाँ नगद बुझेको भनेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर २०७६ असोजमा एक करोड रुपैयाँ लिएको बताएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणले बयानमा भनेका छन्– भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल रिसेट कसरी भयो मलाई थाहा छैन । त्यसैगरी एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले केशव दुलाल र सानु भण्डारीसँगको अफरमा ‘फ्रेस’ हुनका लागि मात्र हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको भनेका छन् । रायमाझीले गृह मन्त्रालयमा इन्द्रजीत राईको कार्यकक्षमा राई, भण्डारी र दुलालबीच लेनदेनको विवाद भएको सुनेको र डुप्लिकेट काम त गरेको होइन भनेर उल्टै प्रश्न गरेको वयानका क्रममा बताएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि आरोपी केशव दुलाल र तत्कालीन गृहमन्त्री खाँणबीच सिधा सम्पर्क हुने हुँदा उनले लिएर आएको रकम सिधै मन्त्रीलाई दिए वा सचिवालयमार्फत अरु कसैलाई दिए भन्ने आफूलाई चासो, लोभ वा संलग्नता नभएको वताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);