काठमाडौं, २३ पुष । सर्वोच्च अदालतले प्राध्यापक डाक्टर शशी शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा पुनर्वहाली गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्राध्यापक डाक्टर राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरेको हो । शर्मालाई त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले २०७० पुस २६ गते नियुक्त गरेको थियो ।
शर्माको चारवर्षे कार्यकाल आगामी बुधवार सकिँदैछ । वरिष्ठलाई पाखा लगाई कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डाक्टर गोविन्द केसीले अनसन शुरु गरेपछि त्रिभुवन विश्वविद्यालयले शर्मालाई बर्खास्त गरेको थियो ।
आफूलाई विना कारण बर्खास्त गरिएको भन्दै डाक्टर शर्माले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । शर्माको नियुक्ति गैरकानुनी भएको पुष्टि गर्ने आधार नभएको अदालतको ठहर छ ।