काठमाडौं, १४ वैशाख । गण्डकी प्रदेशमा आज सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन् । गत पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार बैशाख ९ गते ढलेपछि नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज ४ बजेसम्मको समय दिएका छन् । पाण्डे माओवादीलगायतको समर्थनमा नयाँ सरकार बन्न लागेको हो । केन्द्रमा सरकार बदलिएसँगै गण्डकी प्रदेशमा पनि माओवादी सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले विश्वासको मत लिन असफल भएका हुन् ।
प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएर आह्वान गरेका थिए । मुख्यमन्त्रीमा कांग्रेस–माओवादीबीच आलोपालो गर्ने सहमति भएको छ । माओवादीले आलोपालो ग्यारेन्टी गर्न, ३ मन्त्रालय पाउनुपर्ने मागबारे अझै केन्द्रको निर्णय कुरिरहेको छ ।