हिमालको देशको आधुनिक अर्थतन्त्रको जग बसाल्ने हिमालय | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

हिमालको देशको आधुनिक अर्थतन्त्रको जग बसाल्ने हिमालय

काठमाडौं, २३ माघ । हिमालय शमशेर हामीबीच रहनुभएन । राणा परिवारमा जन्मिनुभएका उहाँको शालिनता देख्दा जोकोहीको उहाँप्रति सम्मान झन् बढ्थ्यो । फलेको वृक्ष झुक्छ भनेजस्तै हुनुहुन्थ्यो उहाँ ।

९६ वर्ष सक्रिय जीवन बाँचेर २२ माघमा उहाँको भौतिक शरीर समाप्त भयो । तर, उहाँको योगदान नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सदास्मरणीय रहनेछ । पहिलो गभर्नर मात्र नभई पहिलो अर्थमन्त्रीका रुपमा उहाँको परिचय स्थापित छ ।

हिमालयशमशेर जबरा २९ वर्षकै उमेरमा २०१३ वैशाख १४ गते गभर्नर हुनुभएको थियो । उहाँकै कार्यकालमा नेपाली नोट चलनचल्तीमा आयो । त्यो ऐतिहासिक कार्यले उहाँको व्यक्तित्वलाई झन् उचाईमा पुर्यायो । त्यसभन्दा अघि देशको तराई क्षेत्रमा भारतीय नोट चल्थ्यो । उहाँले देशभर नेपाली नोट चल्ने अवस्था बनाउनुभयो ।

करको व्यवस्थालाई समेत हिमालय शमशेरले आधुनिकीकरण गर्नुभयो । उहाँ अर्थसचिव हुँदा आर्थिक क्षेत्रका महत्वपूर्ण संचरनाहरु विकास गरिए । भन्सार अड्डाहरु पुनः गठन गरिए ।

२०१७ मा तत्कालीन राजा महेन्द्रले कू गरेपछि उहाँ अर्थसचिवबाट हटाइनुभयो । त्यसपछि संयुक्तराष्ट्रसंघमा कार्यरत रही विभिन्न देशमा काम गर्नुभयो । त्यसपछि व्यापार व्यवसायमा लाग्नुभयो । गोर्खा ब्रुअरीको संस्थापक उहाँ नै हुनुहुन्थ्यो । निजी क्षेत्रको बैंक हिमालय बैंक स्थापना गर्नुभयो ।

राणाका दुई छोरा र दुई छोरी हुनुहुन्छ । हिमालय शमशेरले नेपालको आर्थिक क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय छ । उहाँ आर्थिक क्षेत्रका भीष्मपितामह मानिनुहुन्थ्यो ।

Leave a Reply