काठमाडौं, २ माघ । सुदुरपश्चिम प्रदेशमा तेस्रो पटक सभामुख छान्न आज निर्वाचन हुने भएको छ । यसअघि भएका दुई निर्वाचनमा कुनै पनि उम्मेदवारले सरकार निर्माणका लागि आवश्यक मत ल्याउन नसकेपछि आज तेस्रोपटक मतदान हुन लागेको हो ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् । सो प्रदेशमा सभामुख बन्न २७ मत आवश्यक पर्छ । पहिलो पटकको निर्वाचनमा सभामुख बन्न भण्डारीलाई १ मत कम भएको थियो ।
५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको प्रदेशमा दोस्रोपटकको मतदानमा नागरिक उन्मुक्तिका सात सांसदले कतै पनि मत नदिएपछि दुवै उम्मेदवारको बहुमत पुग्न नसकेको हो । सरकारले आफ्ना माग सम्बोधन गर्न गम्भिर नभएको भन्दै नागरिक उन्मुक्तिले कतै पनि मत नदिएको हो । आज बिहान ९ बजे सभामुख चयन गर्न बैठक बोलाइएको छ ।
संविधानका धारा १८२ को उपधारा १ मा प्रदेश सभाका पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशको पहिलो बैठक बसेको आज १५ दिन पुग्दैछ । आज सभामुख र उपसभामुख पाउने सम्भावना कम देखिन्छ ।