काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।
यस्तै, ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ । नेपालले अभ्यास दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ । हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले अभ्यासको लागि तयारी भइरहे पनि पक्का नभइसकेको जानकारी गराए ।
‘दोहामा रहेको टिमले अभ्यासको लागि कुराकानी गरिरहेको छ । तर, पक्का भइसकेको छैन ।’ उनले भने । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम कुवेत पुग्नेछ । समूह ‘बी’मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठ इन्डोनेसियासँग खेल्नेछ । श्रीलंकासँगकाे खेलकाे मिति भने तय भएकाे छैन ।