काठमाडौं, २ मंसिर । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ। भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए । तर अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो।
‘यसपटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ’, विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने।
एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्ने बताइन्छ। सरकारी तथा निजी अस्पतालमा हाल २ सय भेन्टिलेटर पनि छैनन्। खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा कम्तीमा एक एक बाँकी अति आवश्यकताका आधारमा जडान गर्ने महानिर्देशक डा. पन्तले जानकारी दिए। भेन्टिलेटरको प्रयोग विशेष गरी नवजात शिशुको उपचारमा हुने गर्छ।




