दाङ, २८ कार्तिक । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनले अहिले सहयोग मागिरहेको खुलासा गरेका छन् ।
गठबन्धन निर्माण गर्ने बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफूहरुलाई होच्याएको तर अहिले सहयोग मागिरहेको बताउँदै आफूहरुले अब सहयोग गर्न नसक्ने स्पष्ट पारे ।
दाङको घोराहीमा प्रगतिशील पत्रकार संघले मंगलबार बिहान गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । यस्तै नेता केसीले अहिलेको चुनाव गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्ने चुनाव भएकाले दलहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक भएको तर अस्वस्थ प्रतिस्पर्धा आवश्यक नरहेको बताए ।
निर्वाचन आयोगले आचार संहिता कार्यान्वयन गराउन नसकी दलहरुको छायामा परेको आरोप पनि नेता केसील लगाए ।