असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने जानकारी दिए ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिएका हुन् । उनले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने दाबी गरे । त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुने पनि उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताए । उनले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख दाबी गरे । वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको उनले जानकारी दिए । उनले विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन समेत अपिल गरे ।

राज्यमन्त्री श्रेष्ठले हाल पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिए । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण मन्त्रालयले गरेको उनले उल्लेख गरे ।

बन्द रहेका विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको राज्यमन्त्री श्रेष्ठको भनाई छ । उनले सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताए ।

खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पूरा गरिरहेको उनले बताए । राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध पनि गरे ।

Leave a Reply