पुनः आन्दोलनको तयारीमा उखु किसान, बाँकी रकम भुक्तानी गर्न भदौ ५ गतेसम्मको अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

पुनः आन्दोलनको तयारीमा उखु किसान, बाँकी रकम भुक्तानी गर्न भदौ ५ गतेसम्मको अल्टिमेटम

फाइल फोटो

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्म पनि नपाएको गुनासो गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरुको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँचबुँदे सहमति भएपनि हालसम्म आफूहरुले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे ।

सरकारको उदासिनताका कारण आफूहरु अन्यायमा परेको उनको भनाई छ ।

मिश्रले विगत तीन-चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दापनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे । उनले अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको बताए । उनले उखु किसानहरुले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिएपनि यसबारेमा मन्त्रालयले चासो नदिएको आरोप लगाए ।

उखुकै पैसा माग्न सर्लाही जिल्लाका उखु उत्पादक किसान काठमाडौँ आएका छन् । मिश्रले उखु बेचेरै धेरैले आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको भन्दै अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि सुनाए ।

सरकारबाट पटक–पटक आश्वासन पाएपनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरु कोरोना महामारीको बावजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौं आएको मिश्रले बताए ।

उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । किसानको भुक्तानी नदिने मिलहरुमा अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बगदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, ईन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहट रहेका छन् । यी मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाईदिने कबुल गरेको भएपनि अहिलेसम्म एक रुपैयाँपनि नउठाईदिएको उनीहरुको गुनासो छ ।

Leave a Reply