दाङ । दाङको पहाडी भेगमा जडीबुटीका बिरुवा रोपेका किसानहरूलाई मङ्गलबारदेखि प्रोत्साहन वापतको रकम वितरण सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङका घोराही र बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो ।
सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटी बिस्तार कार्यक्रम अन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडाहरूमा ७० हजार बढी बिरुवाहरू रोपिएको छ । घोराही उपमहानगरपालिकाको १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर, मालागेडी र दालचिनीका तिरुवाहरू रोपिएको छ ।सहकारी संस्था मार्फत किसानहरूलाई गाउँमै निशुल्क बिरुवा उपलब्ध गराइएको र उनि हरुलाई प्रति बिरुवा ३ रुपैयाँको दरले यो वर्ष प्रोत्साहन वापत दुई लाख दश हजार रुपैयाँ किसानलाई दिइने संस्थाका अध्यक्ष ध्रुबराज पौडेलले जानकारी दिए ।
प्रोत्साहन रकम वितरण कार्यक्रम अन्तर्गत मंगलबार घोराही उपमहानगरपालिका वडा नं। १९ का च्यानगैरा, राम्चे,तिर्साङ, लाकुरीडाँडा,पटिन्जा र बंगलाचुली गाउँपालिकाको वडा नं। २ का मर्पेस र खाडा गाउँमै पुगेर प्रोत्साहन वापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिए ।
बिरुवा लगाउने किसानहरूलाई सबै वडाका गाउँमै पुगेर श्रावण १५ गतेसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । रकम बुझ्ने किसानहरूले गाउँसम्मै निशुल्क रुपमा बिरुवा उपलब्ध भएर प्रोत्साहन वापतको रकम पाएको जीवनमै पहिलो पटक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
जडीबुटी मार्फत स्थानीय किसानहरूको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले निशुल्क बिरुवा ,प्रोत्साहन वापतको रकम र फिल्डमा प्राविधिक सहयोग समेत गरेको थियो ।
यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्ने सम्मको आफूहरूको योजना रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिए ।