सिन्धुपाल्चोक,२० मंसिर। पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययनका लागि जानि टोलीलाई गाँउपालिकाले बिदाई गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको शुरुआत सोमबार वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले एक समारोहका बिच गर्नुभएको थियो ।
टोलीले पर्वतारोही माया गुरुङको नेतृत्वमा अध्ययनसहित पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण गर्ने छ । टोलीले उक्त क्षेत्रमा अध्ययन र आरोहणको लागि पुस ३ गतेसम्मको समय बिताउने छ ।टोलीमा वडा नं ३ का अध्यक्ष नीमाछिरिङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ, पर्यटन सल्लाहकार सोमर बोम्जन, पहिलो महिला तामाङ सगरमाथा आरोही कान्छीमाया तामाङ, सगरमाथा आरोही दावाजाङ्बु शेर्पा, क्लाइम्बिङ लिडर, तुलसिङ्ग गुरुङ रहनुभएको छ ।
बिदाई समारोहमा पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिकरूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढाउने गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ ।
उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणसहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रवद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गका लागि तिलमनपासलाई महत्त्वपूर्ण मानिन्छ ।