काठमाडौं, ११ असार । संसदीय समितिले देश संघीय संरचनामा गएपनि सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको जनाएको छ । राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति अन्तरर्गतको शिक्षा तथा स्वास्थ्य नीति कार्यान्वयनको अवस्था अध्ययन उपसमितिको प्रतिवेदनले सामुदायिक विद्यालय र अस्पतालहरुमा कर्मचारी अभाव रहेको देखाएको हो ।
विभिन्न प्रदेशहरुमा गरिएको अध्ययनले विद्यालयहरुमा आवश्यक दरबन्दीको अभाव, भौतिक पूर्वाधारको अभाव देखिएको उपसमितिका संयोजक खेम प्रसाद लोहनीले बताउनुभयो ।
उपसमितिले सरकारले उपलब्ध गराउने स्वास्थ्य र शिक्षा सम्बन्धि सेवालाई प्रभावकारी बनाउन नसकेको पनि ठहर गरेको छ । उपसमितिले बिहिबार समितिमा आफ्नो अध्ययन प्रतिवेदन पेश गरेपनि छलफल भने हुन सकेन् । सांसदहरु न्यून संख्यामा सहभागि भएका कारणले प्रतिवेदनमाथि छलफल हुन नसकेको हो ।




