फाइल फोटो
काठमाडौं, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नागरिकता विधेयकबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नागरिकता विधेयकबारे छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार भएको छलफलमा कांग्रेसले नागरिकता सम्बन्धी विधेयकलाई नागरिकता ऐन २०६३ को प्रावधानअनुसार अगाडि बढ्न प्रधानमन्त्री सहित नेकपा नेताहरुलाई आग्रह गरेको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीका साथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, भीम रावल तथा कांग्रेसका तर्फबाट उपसभापति बिमलेन्द्र निधि, नेताहरू कृष्ण सिटौला, मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, रमेश लेखक र दिलेन्द्र बडु हुनुहुन्थ्यो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ पनि सहभागी छलफलमा कांग्रेस नेताहरूले अहिलेको व्यवस्थाअनुसारै नागरिकता विधेयक अगाडि बढाउन आग्रह गरेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले भने पार्टीभित्र छलफल गरेर नागरिकता विधेयक अगाडि बढाइने बताउनु भएको छ । २०७५ भदौ ५ देखि नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ ।




