काठमाडौं, २९ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ६ सय १४ पुगेको छ । बिहिवार थप २ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी २ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ ।त्यसैगरी कुल संक्रमितमध्ये ८ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ जनाको नमूना परीक्षण भएको छ ।
देशैभरी गरेर १ लाख ६२ हजार १३ जना क्वारेन्टीनमा रहेका छन् भने ३ हजार ७ सय ३८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।