काठमाडौं, १७ वैशाख | सुरक्षको व्यवस्था गरेर विकास निर्माणका काम अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन,आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गर्न सुझाव । संसदको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सुचारु राख्न आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो । बैठकमा सांसद गणेशकुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताउनुभयो ।
यस्तै अर्का सांसद अनिल कुमार झाले सुरक्षाको व्यवस्था गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । बैठकले पूँजीगत खर्च न्यून भइराखेको अवस्थामा कोरोना भाइरसका कारण अझबढी कम हुने भएकोले सरकारलाई दिर्घकालीन नीति ल्याउन समेत निर्देशन दिएको छ ।