काठमाडाैं, ५ वैशाख । पृथ्वी राजमार्ग, लकडाउनको २३ औँ दिन । पछिल्ला दिनमा जस्तै बिहीबार पनि राजमार्गमा ट्रक र केही अत्यावश्यक सेवाका यातायातका साधन मात्र गुडिरहेका थिए ।
सडककिनारमा भने पैदल यात्रुको भीड । वैशाखकोे दिन, मध्याह्नको चर्को घामले तातिएको सडकमा पैताला खियाउँदै, पसिना बगाउँदै हिँडिरहेका यी मजदुर घुम्न राजधानी आएका होइनन् । पसिना बगाउन र देश बनाउन आएका यिनै पौरखीलाई अप्ठ्यारो वेलामा राज्यले उपेक्षा गर्यो, त्यसैले उनीहरू आफ्नै गाउँतर्फको यात्रामा ताँती लागेका छन् ।
चितवनको मौवाखोलाकिनारमा एक हुल यात्रु सुस्ताइरहेका थिए । उनीहरूमध्ये धेरैको खुट्टामा जुत्ता छैन । चप्पल थिए, हिँड्दाहिँड्दा खिइसके । सुन्निएका खुट्टालाई एकछिन आराम दिन बसेका उनीहरूको यात्रा आधा पनि भएको छैन, गन्तव्य हो– बर्दिया, रोल्पा, सल्यान र दाङ । कति दिन लाग्ने हो ? कहाली लाग्छ भनेर उनीहरू हिसाब गर्न पनि तयार छैनन् ।
आफ्नै खुट्टाले पोलिरहेको छ । दाङ, देउखुरीका घनश्याम चौधरी सिन्धुपाल्चोकको बाह्रबिसेबाट हिँडेका हुन् । ३० चैतमा बाह्रबिसेबाट हिँडेका चौधरीले बाटैमा नयाँ वर्ष आएको पत्तो पाएनन् ।
३५ वर्षे चौधरी भन्छन्, ‘रातदिन नभनी हिँडेको ।’ थकानको त कुनै सीमा छैन । डेग चल्न नसक्ने भएपछि उनी यसरी नै सुस्ताउँछन् । गन्तव्य सम्झिएर एकैछिनमा हिँड्न थाल्छन् । निर्माण मजदुरको रूपमा काम गर्ने चौधरी भन्छन्, ‘आफूसँग पैसा थिएन । ठेकेदारले काम नभएको भन्दै पुरानो पैसा दिएन । दुई दिन त गाउँलेसँग मागेर खाएँ । मागेको खाएर कतिन्जेल बाँचिएला भनेर हिँडेको ।’ हिँडेकै दिनदेखि चौधरीको पेटमा भात परेको छैन । ‘बाटोमा मान्छेहरूले चाउचाउ, पानी दिन्छन् त्यही खान्छु,’ उनले भने ।
२१ वर्षीय सुरेश विक काभ्रेमा इँटाभट्टामा काम गर्थे । रोल्पा जान हिँडेका सुरेशले तीन दिनको यात्रा तय गरिसके । उनको टोलीका साथीहरू निदाउन पाएका छैनन् । उनी भन्छन्, ‘सुत्ने ठाउँ पाए निदाउन मन छ, तर कहाँ पाउनु सुत्ने ठाउँ ? मौका मिलेको वेला सडककिनारमै आराम गर्ने हो, त्यहीँ निदाउने हो ।’
जीवनका लागि ‘लङमार्च’मा हिँडेका सुरेश र उनका साथीले गजुरीमा ट्रक पाए, खुसी हुँदै चढे । तर, खुसी लामो समय टिकेन किनकि केही पर मात्रै प्रहरी चेकिङ थियो । डराएका चालकले सबैलाई ओराले । उनीहरू ओर्लिनासाथ ट्रक दौडियो । पोका–पन्तुरा ट्रकमै छुट्यो । ‘ज्याकेट, गुन्टा सबै ट्रकमै थियो,’ सुरेश भन्छन्, ‘अब यो टिसर्टमा मात्र कसरी घर पुग्ने होला ?’
ललितपुरको चापागाउँमा निर्माण मजदुरको काम गर्ने दिलबहादुर चौधरी र उनका ६ जना साथी आफ्नो घर बाँके जान भनेर १९ चैतमै निस्किएका थिए । ‘हामीलाई ठेचोबाटै पुलिसले फर्कायो, तर बस्ने–खाने व्यवस्था थिएन । चाउचाउ पनि किन्न नसक्ने भएपछि ३ गते राति १० बजे उपत्यका छाडियो,’ उनले भने । प्रहरीको आँखा छलेर काठमाडौंबाट निस्कन पाउनुलाई नै उनले जीवनको सबैभन्दा ठूलो उपलब्धि मानेका छन् । यो वेलामा सरकारले गाँस, वास र कपासको व्यवस्था गर्नुपथ्र्यो, राज्य भन्ने परिकल्पना त्यसैका लागि बनेको हो भन्ने हेक्का उनलाई छैन ।
चर्को घामलाई पन्छाउँदै एकैछिनमा झमझम पानी पर्यो । सडककिनारमा सुस्तसुस्त हिँडिरहेका जागुराम थारू दौडिँदै छेउको पेट्रोलपम्पमा ओत लागे । यी पैदल यात्रुलाई घाम र पानी दुवैले दुःख दिन्छ । काठमाडौंमा निर्माण मजदुरको काम गर्ने थारू भन्छन्, ‘काम रोकियो, भोकले बस्न नसकेपछि हिँडेको ।’
थारूलाई लकडाउन भएको थाहा थियो । ‘साहुले काम गरेको पैसा दिन्छ कि भनेर यति दिन पर्खिएँ,’ थारू निराश हुन्छन्, ‘साहुले पैसा दिएन, आफूसँग भएको पनि सकिएपछि हिँडेको ।’
थारूको काँधमा आठजनाको परिवार पाल्ने जिम्मेवारी छ । यसपटक मजदुरी नै नलिएर घर हिँडेका उनी भन्छन्, ‘घरमा आस त गरेका होलान्, तर आफैँ कसरी पुग्ने हो, ठेगान छैन ।’ नयाँ पत्रिका दैनिकमा सागर चन्द र नवीन प्यासीले समाचार लेखेका छन् ।