काठमाडौं, २ चैत । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको आइतवारको बैठकमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले यस्तो बताउनु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला पौडेलले उक्त कुरा बताउनु भएको हो । उहाँले गत फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर ग्याँस नेपाल भित्रिएको बताउनुभयो । पौडेलले बिभिन्न नाकाबाट दैनिक ग्याँस आइरहेको भन्दै अभाव नहुने उल्लेख गर्नुभयो ।
ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै भने नहुने कार्यकारी निर्देशक पौडेलको भनाई छ ।





