एजेन्सी, १ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको छ ।
कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्याउन ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेको बताउनुभएको हो । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूलो भएको भन्दै संघीय सरकारले आपत्कालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने जनाउनु भएको छ ।
यसबाट संक्रमणको परीक्षणले गति दिन सक्ने ट्रम्पले विश्वास लिनुभएको छ । ह्वाइट हाउसबाट आपतकालीन अबस्थाको घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताउनुभयो ।
ट्रम्प प्रशासन बृहत कोरोना भाइरस परीक्षण गर्न असफल भएको भन्दै आलोचना हुंदै आएको छ । स्वास्थ्य सेवा प्रदायकहरूलाई आपत्कालीन तयारी योजनाहरू सक्रिय गर्न भनिएको छ ।
ट्रम्पले यसअघि पनि धेरै राष्ट्रिय आपतकाल घोषणा गरिसक्नुभएको छ । तर महामारीविरुद्ध लड्ने यो आदेश भने स्वाइन फ्लूविरुद्ध बाराक ओबामाले घोषणा गरेको आपत्काल पछिको पहिलो हो ।
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ भने १७ सय १ जना संक्रमित छन् ।