काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ११ जना केन्द्रीय सदस्य थप गर्नुभएको छ । सभापति देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै ११ जना केन्द्रीय सदस्य थप गरिएको जनाउनु भएको छ । तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ को धारा ४ (१०) (ग) बमोजिम ११ केन्द्रीय सदस्य थपिएका हुन्।
केन्द्रीय सदस्य थपिएकामा रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु रहेका छन ।
त्यसैगरी योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन । यो सँगै कांग्रेस केन्द्रीय कार्यसमिति ९७ सदस्यीय भएको छ ।