काठमाडौं, १७ फागुन । २०७२ सालको विनासकारी भूकम्प गएको ४ बर्षभन्दा बढी भईसक्दा पनि धेरै भूकम्प पीडितहरु अझै पनि पाल मुनि बस्न बाध्य छन् । भुकम्पको समयमा पीडितहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले ठूलो अनुदान रकम घोषण गरेका थिए ।
तर सम्पुर्ण भूकम्प पीडितहरुमा अनुदान रकम भने पुग्न सकेको छैन । लामो समय वितिसक्दा पनि सरकारबाट केही सहयोग नपाएको सूर्यविनायकका भूकम्प पीडितहरुले गुनासो गर्दै आएका छन् ।
बास भएकाहरुले बरु अनुदान पाएको तर बास नभएका वास्तविक भूकम्प पीडितहरुले भने सरकारी प्रक्रियामा दगुर्र्दै समय जाने गुनासो गरेका छन् । कतिले तल्सिङ्ग र मोहीयानी हक नछुटिँदा पनि राहत पाउन सकेका छैनन् ।
सोही प्रक्रिया पुरा नगरेको कारणले नै धेरै पीडितहरुले अनुदान नपाएका हुन् । साथै भूकम्प पीडितहरुलाई सहज हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ कानून बनाइ रहेको राष्ट्र निर्माण मञ्च नेपालका संचार अधिकृत सुवास तिमल्सिनाको भनाई छ ।
पहिलो किस्ताको सहयोग लिएर दोश्रो किस्ता नलिनेहरुको संख्या धेरै छ । सुर्य विनायक नगरपालिकामा मात्रै करिब ८ हजारले पहिलो किस्ता लिएका थिए र करिब आधाले मात्र दोश्रो किस्ता लिएका छन् । यसरी पहिलो किस्ता लिने तर दोश्रो किस्ताका लागि नआउनुको कारण छानविन गर्नका लागि पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले पहल गरिरहेको छ ।
भूकम्पले क्षति पु-याएको लामो समय वितिसक्दा पनि पीडितहरु अझै पीडामै छन् । सरकारले दिएको अनुदानले थोरै भए पनि सहयोग मिल्ने आशमा बसिरहेका भूकम्प पीडितहरु अझै पनि उचित बासको पर्खाइमा छन् ।