काठमाडौं, १५ फागुन । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गत बर्षको तुलनामा कम नभएको स्पष्ट पार्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार नेपाल सरकारको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उहाँले समग्र मुलुकको एकिकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताउनुभएको हो ।
उहाँले आर्थिक बर्षको अन्त्य सम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी गर्नुभयो । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसकेपनि पछिल्लो अवस्था सन्तोषजन रहेको उहाँले दाबी गर्नुभयो ।
पुर्व संञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले सरोकारित र सम्बन्धीत निकायहरुले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “मिश्रित धारणाहरु आईरहेका छन् । अख्यिारयारलाई पनि थाहा छ । संसदीय समितिलाई थाहा छ । संबैधानिक, कानुनी र संस्थागत विधिबाट निक्र्योल हुन दिउँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् ।”
ठूला भ्रष्टाचार अभावजन्य भ्रष्टाचार नभएको भन्दै उहाँले कर्मचारीको तलब बढाएर साना साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने स्पष्ट पार्नुभयो ।
पुस्तक विक्रिमा लगाएको करका सम्बन्धी संचारकर्मीको जिज्ञासामा उहाँले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको बताउनुभयो । पुस्तक विक्रिमा धेरै मुलुकले मुल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर १८ प्रतिशत सम्म रहेको उल्लेख गर्दै उहाँले अरबौ रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाईएको कर जाहेज भएको बताउनुभयो ।
उहाँले पुस्तकको विक्रि व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम फैलाउने काम नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो “पुस्तकको व्यापार हो ज्ञानको व्यापार होइन ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौ ।”
मौरिससबाट आउने लगानी रोकिएको सम्बन्धमा उहाँले स्रोत खुलेका र बैकिङ प्रणालीबाट आउने लगानी प्रभावित नहुने स्पष्ट पार्नुभयो । संचारकर्मीले मौरिससबाट आउने लगानी रोक्दा समग्र अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्न सक्ने भन्दै त्यसबारे जिज्ञासा राखेका थिए ।
त्यस्तै उहाँले राष्ट्रबैकको गर्भनर नियुक्तिमा भएको ढिलाई बारे संचारकर्मीको जिज्ञासामा चैत ५ भन्दा अगाडि नै नियुक्त हुने बताउनुभयो ।