धादिङ, ९ फागुन । धादिङको धुनिबेसी क्याम्पस स्थापना भएको दश वर्ष पुरा भएको छ । २०६६ सालमा स्थापना भएको धुनीबेशी क्याम्पसको स्थापनापछि महंगा शहरमा अध्ययन गर्न जानुपर्ने बाध्यता हटेको छ ।
सामुदायीक क्याम्पसको भौतिक, आर्थिक तथा शैक्षिक सुधारका लागि वर्षेनी लगानी गरेपनि धुनीबेसी जस्ता क्याम्पस अझै विमुख छन् । संघीय सरकारले गाउँमै निर्माण भएका सामुदायिक क्याम्पसलाई प्राथमिकतामा नराखेको कारण क्याम्पसको समग्र विकाससंगै गुणस्तरीय शिक्षाको अभाव भएको स्थानीयले बताएका छन् ।
ग्रामीण क्षेत्रमा उच्च शिक्षा दिनु निकै चुनौति छ । श्रोत साधन र पहुँचको अभावमा शिक्षाका धरोहरहरु जर्जर भएका नजिर पनि छन् । यद्यपी धेरै चुनौतिबीच पनि धुनीबेसीले उच्च शिक्षा दिने प्रयास गर्दै आएको छ ।
स्थानीयको पहलमा सिमित श्रोत साधको बलमा क्याम्पस अघि बढीरहेको छ ।धेरै चुनौतिको बाबजुद पनि क्याम्पसले ग्रामीण क्षेत्रमा उच्च शिक्षा दिन सकेको क्याम्पस अध्यक्ष राजुप्रसाद कँडेल बताउनुहुन्छ ।
गाउँमै क्याम्पस स्थापना भएपछि उच्च शिक्षा अध्ययनमा केही सहजता नभएको पनि होइन, तर क्याम्पसको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा राज्यको खासै ध्यान गएको छैन ।
धुनीबेसी जस्ता सामुदायीक क्याम्पसहरु श्रोत साधनको अभावमा गुज्रिरहेका छन् । यद्यपी दश वर्षको दौरानमा धुनीबेसी केही परिवर्तन ल्याएको छ ।
ग्रामीण क्षेत्रमा उच्च शिक्षा दिन धुनीबेसीले योगदान गरेकोले थप विकासका लागि सरकारले पहल गर्ने सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले बताउनु भयो ।
शिक्षा क्षेत्रमा राज्यको लगानी धेरै भएपनि धुनीबेसी जस्ता क्याम्पसहरु स्थानीयको पहलमा उच्च शिक्षा दिन कस्सिएका छन् । श्रोत साधनको चरम अभावलाई छिचोल्दै गाउँमै विपन्नहरुलाई उच्च शिक्षा दिने अवसर सिर्जना गरेका छन् । यसर्थ संघीय सरकाले धुनीबेसी जस्ता सामुदायीक क्याम्पसको लागि विशेष प्राथमिकता दिनु सक्नुपर्छ ।