काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि उनी नैतिक संकटमा पर्नुभएको थियाे ।
बिहीबार धनगढीबाट काठमाडाैं फर्किएका बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएकाे हाे । बास्कोटाले पदबाट राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा समेत जानकारी गराउनुभएकाे छ ।
अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्रीसँग आग्रह गरेको थियो ।
मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020
बिहीबार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा पहिले आशंका गरिएको ठूलो रकमको अनियमिततालाई अडियोले बलियोसँग प्रमाणित गरेको भन्दै मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको थियो ।
७० करोड कमिसन मागेको अडियो नै सार्वजनिक भैसकेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले यस सम्बन्धमा विहान बालुवाटारमा गम्भीर छलफल गरेका थिए ।
यसैगरी संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकाे सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको विहिबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसंगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम रोक्न सरकारलाई निर्देशन दिएको हो ।