बझाङ, ७ फागुन । हिन्दुहरुको महान पर्व महाशिवरात्री नजिकिएसंगै बझाङकोे बुंगल नगरपालिका ५ बाईसधारा त्रिवेणीधाममा शिवरात्रीको चहलपहल सुरु भइसकेको छ । बाईसधारामा स्नान, उपवास, तर्पण, श्राद्ध, मुण्डन आदि संस्कार र पुण्यकर्म गर्नेहरुको भीड बढेको छ । यस क्षेत्रमा पुजा गरेमा मनोकांक्षाहरु पुरा हुने जनविश्वास रहिआएको छ ।
मकरसंक्रान्ति, महाशिवरात्री, विसुपर्व, नरक चतुर्दशी लगायतका विभिन्न दिनहरुमा यहाँ मेला लाग्ने गर्दछ । महाशिवरात्रीमा यहाँ छिमेकी जिल्लाहरूबाट पनि श्रद्धालुभक्तजनहरूको घुँइचो लाग्ने गरेको छ।
शिवरात्री पर्वमा पवित्र वाइसधारामा स्नान गरी भगवान् शिवको आराधना गर्ने गरिन्छ । बाईसधारामा स्नान गरेमा पुण्य प्राप्ति हुने तथा मनोकांक्षा पुरा हुने विश्वास रहि आएको छ ।
बाइसधारा पुण्यभुमीसंगै रमणीय पर्यटकीय क्षेत्र भएकोले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने स्थानीयहरुको भनाई छ । तर उपयुक्त प्रचारप्रसारको अभावले यो क्षेत्र ओझेलमा पर्दै आएको छ ।
बाईसधारा क्षेत्रको प्रचारप्रसारको लागि यहि फागुन २ गते देखि ९ गतेसम्म बुंगल नगरपालिकाले महायज्ञको आयोजना समेत गरेको छ ।
हाल बुंगल नगरपालिकाले यस क्षेत्रमा धार्मिक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान गरी संरक्षण एवम् संवर्द्धनका कार्यहरु अगाडि बढाइरहेको छ । यस अन्तर्गत त्रिवेणीधामसम्म पुग्ने सडक निर्माण, वाइसधाराहरु, मन्दिरहरूको जिर्णोद्धार तथा व्यवस्थित आर्यघाट निर्माण कार्य अगाडि बढाएको छ ।