काठमाडौं, २९ माघ । काठमाडौंको मुटु मानिने र धेरै पैदल यात्रुले आवातजावत गर्ने नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको समयमा पुरा हुन सकेको छैन् । गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर डिभिजन सडक कार्यालय काठमाडौँले डिजाइन परिवर्तन गर्ने भनेपछि निर्माणकार्य रोकिएको छ । यसबाट आम सर्वसाधारण मर्कामा परेका छन् ।
आकाशे पुल बनाउन सुरुवात गरिसकेको सडक विभाग कार्यालय आफैले डिजाइन परिवर्तन गर्ने भएसंगै निर्माण कार्यमा ढिलाई हुने भएको छ । यसको समस्या सर्वसाधारण पैदलयात्रुले भोग्नु परेको छ ।
सडक विभाग कार्यलय आफै फुट ब्रिज बनाउने योजनामा भने रहेको छैन् । अन्र्तराष्टिय अभ्यासमा फुट ब्रिज भत्काएर अण्डर पास बनाइरहेको र नेपालमा पनि अण्डर ब्रिजकै आवश्यकता देखिएको सडक विभागको भनाई रहेको छ । विशेष गरेर शहरको सौन्दर्यमा ह्रास आउने, बृद्धबृद्धालाई सिढी उक्लन ओर्लन गाह्रो हुने, समय धेरै लाग्ने जस्ता समस्याले अब भने नयाँ प्रयोगको जरुरी रहेको सडक विभागका ईन्जिनियरको भनाई छ ।
काठमाडौं महानगरपालिकाले उपत्यकाका माइतीघर, टेकुलगायतका स्थानमा आकाशे पुल निर्माण गरिरहेको छ । यसबाहेक उपत्यकाका विभिन्न स्थानमा बनाइरहेको आकाशे पुल पनि विभिन्न किसिमका अवरोधले पुरा हुन सकेको छैन । सडक विभागले सबै आकाशे पुल पनि चालु आर्थिक बर्षभित्रै सम्पन्न गर्ने जनाएको छ ।





