काठमाडौं, १८ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ । त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक तथा लाल राम्मव्राले एक गोल गरे । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गर्यो । भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
५७ औं , ६०औं र ७१ औं मिनेटमा सन्जोगले गोल गर्दै ह्याट्रिक थ्री स्टारलाई ४–० को फराकिलो जित दिलाए । सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने तथा २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलमा सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै १० खेलमा १७ अंक जोडेको थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।