काठमाडौं, १७ माघ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपीयन युनियन (ईयू)बाट अलग भएसंगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् ।
बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले ब्रेक्जिट अन्त्य नभएर सुरुवात भएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत ४७ बर्षपछि इयूबाट अलग हुँदैछ ।
बेलायतले गत वर्ष २९ मार्चदेखि यूरोपेली युनियनबाट अलग्गिने प्रक्रिया ब्रेक्जिट सुरु गरेको थियो । त्यसपछि २३ जूनमा गरिएको जनमत संग्रहमा यूरोपेली युनियनबाट अलग हुने पक्षमा फैसला आएपछि तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले पद छाडेका थिए ।
त्यसपछि टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन् । तर, संसदबाट अनुमोदन गराउन नसकेपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिइन् । त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए ।
जोनसनले पनि ‘नो–डिल ब्रेक्जिट’ अर्थात् विना कुनै सम्झौता ईयूबाट बेलायतको बहिर्गमनलाई अघि बढाएका थिए । उनको प्रस्ताव पनि पटक–पटक अस्वीकृत भएपछि ब्रेक्जिटको समयसीमा बढाएर ३१ जनवरीसम्म कायम गरिएको थियो ।
अब ईयूको सदस्यता परित्याग गरेर बेलायत उक्त गठबन्धनबाट बाहिरिने छ । यससँगै बेलायत एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट पनि अलग हुनेछ ।
त्यसैगरी औषधिदेखि ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका बिभिन्न प्रशासकीय निकायहरूको सदस्यता पनि अन्त्य हुनेछ । ईयूलाई बेलायतले वार्षिक दिँदै आएको नौ अर्ब पाउन्ड पनि दिनुपर्ने छैन ।