काठमाडौं, १ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नं. २ मा सोमबार मतदान हुने भएको छ ।
प्रदेश नम्बर २ मा भोली हुने निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र बाहेक पनि अन्य प्रमाणका आधारमा मत खसाल्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले मताधिकार सुनिश्चित गर्न भन्दै निर्वाचन आयोगले यस्तो वैकल्पिक व्यवस्था गरेका हो ।
मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने भएका छन् । तर, यसका लागि फोटो सहितको मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ ।
साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ ।