सरकार विरुद्ध डरलाग्दो ढंगले प्रचार भइरहेको प्रधानमन्त्री ओलीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

सरकार विरुद्ध डरलाग्दो ढंगले प्रचार भइरहेको प्रधानमन्त्री ओलीको गुनासो

काठमाडौं, १५ माघ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार अघि बढेको गुनासो गर्नुभएको छ ।

बुधबार काठमाडाैंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकार विरुद्ध प्रचार युद्ध मात्रै नभई आक्रमण नै डरलाग्दो गरि छेडिएको गुनासो गर्नुभयो ।

उहाँले सरकार विरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रा विरुद्ध प्रचारयुद्ध, प्रचारयुद्ध मात्रै नभनुँ प्रचारआक्रमण डरलाग्दो गरि छेडिएको छ । तर हामी वाद विवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिंदै आएका छौ ।”

लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले बैचारिक आग्रह पुर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “लोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ । हाम्रो पार्टीको नामको कारणले कतिमा बैचारिक पुर्वाग्रह पनि हुन सक्छ । त्यो पनि होला । तर हामी पुर्वाग्रहभन्दा माथि उठेर २१ औं शताब्दीमा मानवजातीले प्राप्त गरेको उपलब्धि, मुल्यमान्यताको कसिमा आफुलाई प्रस्तुत गर्न चाहन्छौं ।”

उहाँले लोकतन्त्रलाई पुर्ण डेमोक्रेसीको रुपमा अगाडि बढाउँदै न्याय र हकअधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपूर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रता लगायत विषयमा सरकार विरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रा बारेमा प्रेस स्वतन्त्रता वा स्वतन्त्रताका हकका बारेमा प्रश्न उठ्नु वास्तवमा निर्रथक कुरा हो । ”

नेपाली कांग्रेस, नेकपा तथा विभिन्न समुहले विभिन्न विषय र सन्दर्भमा समय समयमा हतियार उठाएको भएपनि नेपालको राजनीति अन्तत्वगत्वा शान्तिपुर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अघि बढेको उहाँले दाबी गर्नुभयो ।

अन्तराष्ट्रिय मुल्य मान्यता र राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकरण गरिएको भन्दै उहाँले सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकिकरणको व्यवस्था अनुरुप जाने ढंगले अगाडि बढेको पनि स्पष्ट पार्नुभयो ।

कोही पनि भोकै नपरोस् भन्ने तर्फ सरकार सजग र सर्तक भएको भन्दै उहाँले सोही अभियान अनुसार काठमाडौंका सडक मानवरहित भएको बताउनुभयो । उहाँले भन्नुभयो “सडक मानव हुन दिएका छैनौ । सडक बालबालिकाको अन्त्य गरेका छौं । सडक मानव अन्त्य गरेका छौं र कोही पनि भोकै मर्ने स्थितिको अन्त्य गरेका छांै । समृद्धि हासिल गर्ने बाटोमा, विकासको बाटोमा, शुसासन कायम गर्ने बाटोमा, भ्रष्टाचार रोक्ने बाटोमा र भ्रष्टाचार नियन्त्रण गर्ने बाटोमा हामी छौ । सम्पुर्ण पुर्वाधारको आधार तयार भईसक्यो भन्ने होइन ।”

भ्रमण बर्ष २०२० लाई कोरोना भाईरसको प्रभाव

नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाईरसको संक्रमणले केही प्रभावित पार्ने देखिएको उल्लेख गर्दै सरकारले आवश्यक सावधानी अपनाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण बर्षको सुरुवातमा कोरोना भाईरसतिर संकेत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थियो त्यो कसले कसरी बुझ्यो ।”

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोलेका विपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कस्तो धक्का के को धक्का भनी प्रश्न गर्नुभएको थियो ।

केन्द्रीय समिति बैठकमा भएको ढिलाई

केन्द्रीय समितिको दोश्रो बैठक अस्वभाविक ढंगले विलम्ब हुन गएको भन्दै उहाँले सरकारको कारणले वा प्रधानमन्त्रीले समय दिन नसकेकाले बैठक बिलम्ब भएको भ्रम नराख्न आग्रह गर्नुभयो ।

विभिन्न कारणले बैठक बस्न ढिलाई भएको र भविष्यमा यस्तो किसिमको ढिलाई नहुने कुरामा आफु विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । केन्द्रीय समितिको दोश्रो बैठक भएपनि बैठकको रुपमा सञ्चालन हुने पहिलो बैठक भएको र यो बैठक विधिबत रुपमा सञ्चालन हुने विश्वास दिलाउनुभयो ।

सत्तापक्षको, विपक्षी दलको, विभाजन, एकताका विविध अनुभवहरु महसुस गर्दैै अहिलेको अवस्थामा आएको फेयरिस्त दिदै उहाँले वर्तमान अवस्थामा भने पार्टी एकताबद्ध भएर उभिएको उल्लेख गर्नुभयो ।

पार्टी एकता आकस्मिक नभई अध्ययन अनुसन्धानपछि बैचारिक, सांगठनिक र व्यवहारिक आधार तयार गरेर त्यसलाई समृद्ध बनाउँदै लैजाने प्रतिवद्धताका साथ पार्टी एकिकरण भएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन पछि २ बर्षमा मुलुकले असाधारण प्रगती हासिल गरेको दाबी गर्नुभयो ।

उहाँले बैचारिक कुरामा स्पष्ट हुन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “आगामी दिनमा हामीले बैचारिक कुरालाई बैचारिक स्पष्टता विना गन्तव्यको स्पष्टता विना हामी अगाडि बढ्न पनि सक्दैनौ र गन्तव्यमा पुग्न पनि सक्दैनौ । त्यसकारण बैचारिक स्पष्टताका लागि अध्ययन गर्नु र आँखा खोलेर विगतसंग टाँसिएर होइन, अहिलेको यथार्थसंग विश्लेषण गरेर अगाडि बढ्नुपर्छ ।”

कुनै पनि सुचकांकमा नेपाल नेगेटिभ छैन

प्रधानमन्त्री ओलीले विश्वका कुनै पनि सुचकांकमा नेपाल नेगेटिभ नभएको दाबी गर्नुभयो । विश्व बैकको व्यवसाय सम्बन्धी सुचकांकले नेपालको व्यवसायीक वातावरण गत बर्ष १० औं स्थानमा रहेकोमा यस बर्ष ९४ औं स्थानमा रहेर १६ औं अंक माथि उक्लिएको उहाँले बताउनुभयो ।

मानव विकास सुचकांकमा नेपाल २ स्थान अघि बढेको, विश्व भोकमरीको सुचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको र ७३ औं स्थानमा पुगेको, शान्ति सुरक्षाको स्थित ग्लोबल पिस इन्डेक्समा नेपालले १२ अंकले सुधार गरी १ सय ६२ देश मध्ये नेपाल ७६ औं स्थानमा पुगेको, विधिको शासनमा नेपाल २ स्थान माथि उक्लिएको, भ्रष्टाचारमा ११ आंै स्थान माथि उक्लिएको तथ्यांकको फेयरिस्त नै राख्नुभयो ।

त्यसैगरी उहाँले निर्यात २७ प्रतिशतले बढेको, आयातमा कमि आएको, भुक्तानी सन्तुलन बचतमा रहेको, उत्पादन र उत्पादकत्व बढेको तथा, धान, गहुँ र मकैको उत्पादान बढेको तथ्यांक नै प्रस्तुत गर्नुभयो ।

सडक निर्माण, पुल निर्माण लगायत भौतिक पुर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज सञ्चालन भएको लगायतका विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो ।

उहाँले उज्यालो अभियान अन्तर्गत कुल जनसंख्याको ८८ प्रतिशत जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख गर्दै जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्थाबारे पनि जानकारी गराउनुभयो ।

सिंचाईसेवा, तटबन्ध निर्माण तथा डायभर्सन, ५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग निर्माण, जनता आवास कार्यक्रम अन्तर्गत भएका कामकारवाही लगायतको पनि विवरण दिनुभयो ।

प्राविधिक शिक्षा, न्यायो सेटलाईट, स्वास्थ्य विमा कार्यक्रमको विस्तार, लगायतको फेयरिस्त पनि उहाँले प्रस्तुत गर्नुभयो । उहाँले सरकारका कामकारवाहीका सम्बन्धमा केही भ्रम र केही अन्यौलका कुराहरु आउने गरेको भएपनि सरकार त्यसलाई चिर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

कालापानी लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रमा सिमा विवाद देखिएको भएपनि वार्तामार्फत समस्या समाधान गर्ने विश्वासमा सरकारले भारतसंग छलफल अघि बढाएको उहाँले स्पष्ट पार्नुभयो ।

एमसिसी

प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिकसंग जोड्नु आवश्यक नरहेको बताउनुभएको छ । नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई एमसीसीले कुनै पनि असर नपार्ने र नेपाललाई होच्याउने, अपमान गर्ने कुरा सम्झौतामा नभएकाले यसबारे स्पष्ट हुन पनि केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभयो ।

सम्झौता कार्यान्वयनमा आउनु अगाडि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले सो अनुमोदनको क्रममा रहेको भन्दै उहाँले यसले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने स्पष्ट पार्नुभयो ।

शंका उपशंकाको आधारमा कुनै पनि देशको हिडन इन्ट्रेष्टको पछिलाग्न आवश्यक नभएको भन्दै उहाँले एमसीसीलाई इण्डो प्यासिफिकसंग जोड्नु बेकार हुने बताउनुभयो । उहाँले एमसीसी स्थापना विकास, शुसासन र कनेक्टीभिटीमा मात्रै अनुदान सहयोग खर्च गर्न पाईने गरि भएको भन्दै एमसीसी सम्झौतामा भएका सर्त र खर्चको क्षेत्रहरुको फेयरिस्त नै पढेर सुनाउनुभएको थियो ।

यति होल्डिङ्समा गल्ति नगरेको दाबी

प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ति नगरेको दाबी गुर्नभयो । वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र गर्ने भन्दै उहाँले यति होल्डिङ्सलाई लिजमा दिने काममा पनि सरकारले कुनै गल्ति नगरेको दोहोर्याउनुभयो ।

‘नारायणहिटीको अगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनुहुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहसको विषय हुन सक्ला’ तर सरकारले दिने नीति लिईसकेकाले ती जग्गा लिजमा दिने काम भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “लेख्नुपर्ने मान्छेले १ अर्ब लेख्नुपर्नेमा बाई मिस्टेक ६ अर्ब लेखेको रहेछ । मुल्य पनि नपर्ने ठाउँमा लिजमा, भुलचुकले लेखिएको विषयलाई लिएर कुरा भएको रहेछ ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);