काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
नेकपा एकदलिय निरङ्कुसतातर्फ अगाडी बढ्ने आदर्शका साथ अगाडी बढेको भएपनि जनताको बहुदलसँग जोडेर आफुलाई जनवादसँग जोड्न लागेको आरोप लगाउनुभयो ।
उहाँले नेपाली कांग्रेस भित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पु-याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । पौडेलले आफू प्रेस स्वतन्त्रताका लागि सधै सहयोग गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।