बारा, १३ माघ । पहाडी क्षेत्रमा मात्र फल्ने सुन्तला तराईमा पनि फल्न थालेको छ । बाराका एक किसानले आफ्नो घरको चार तल्लाको छतमा प्लास्टिकको ड्रममा सुन्तला रोपेर पहाडमा फल्ने जस्तै सुन्तला फलाउन सफल भएका हुन् ।
तराईको भूभागमा पनि सुन्तला फलेको भन्दै स्थानीय जनप्रतिनिधिदेखि नेता, कृषि प्राविधिकहरु समेत अचम्मित भएर सुन्तला हेर्न उनको घरसम्म पुग्ने गरेका छन् ।
पहाडी क्षेत्रमा सुन्तला फल्नु त स्वाभाविक नै हो । तर, एक किसानले पहाडमा फल्ने सुन्तला तराईमा पनि फलाएका छन् । पहाड मैं फल्ने सुन्तला जस्तै राम्रो दाना लागेको अनि त्यस्तै गुलियो र रंङ्ग पनि दुरुस्तै ।
बाराका जिल्लाको कलैया उपमहानगरपालिका–१ का प्रदिप कुमार साहले काठमाडौं कीर्तिपुरको नर्सरीबाट दुई वर्ष अघि ल्याईएको ओहता पोन्कन जातको जापानी सुन्तला प्लास्टिकको ड्रममा राखेर फलाएका हुन् ।
चिसो ठाउँमा फल्ने जातको सुन्तला भर्मिक कम्पोष्ट मलको प्रयोग गरेपछि दाना लागेको हो । त्यही अनुरुप दुई कठ्ठामा विरुवा लगाएर ट्रायल गरी किसानलाई सुन्तला खेतीतर्फ प्रोत्साहन गर्न सकिने कृषि ज्ञान केन्द्र कलैया बाराका प्रमुख अधिकृत जितेन्द्र यादवले बताउनु भयो ।
रासायनिक मल प्रयोग नगरी विशुद्ध आर्गनिक मलको प्रयोग गरेकोले सुन्तलाको बास्तविक स्वाद आएकोे कलैया उपमहानगरपालिकाका वातावरण शाखाका कर्मचारी रामजी मण्डलको भनाई छ ।
भारतको नागपुर जस्तो गर्मी ठाउँमा सुन्तला फलेको देखेर प्रयोगको रुपमा जापनिज ओहता पोन्कन जातको बोट ल्याएर आर्गानिक मलको प्रयोग गरी फलाएको किसान प्रदिप कुमार साहले बताउनुभयो ।
पहाडबाट ल्याउन झण्झटिलो हुने, सुन्तलाको साईज पनि एक नासको नहुने र महङ्गो पर्ने भएकोले भारतबाट सहज रुपमा सस्तो सुन्तला भित्र्याई बिक्री वितरण गर्ने गरेको स्थानीय फलफुल व्यापारी कुन्दन गुप्ताले बताउँछन् ।
कलैयाका २० भन्दा बढी व्यापारीबाट मात्र दैनिक २ लाख रुपैयाँ भारत जाने गरेको छ । प्रदिप कुमार साहले जस्तै मिहिनेत गरेर कम्पोष्ट मलको प्रयोग गरी तराईमा नै प्रशस्त सुन्तला फलाउन सकिए भारतबाट हुने सुन्तला आयातमा कमी गर्न सकिएका की ?