काठमाडौं, ९ माघ । राष्ट्रिय सभाका १८ सिटका लागि आज मतदान भइरहेको छ । वागमती प्रदेशमा ललितपुर महानगरपालिका–४ को वडा समिति भवन,प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह र प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यालय, गण्डकी प्रदेशको पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ मा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र र कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसरमा मतदान भइरहेको छ । मतदानका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।
मतदानलगत्तै राजनीतिक दलहरूको सहमतिमा मत गणना हुने र कुनै बाधा अवरोध नआए गणना प्रारम्भ भएको २ घण्टाभित्र परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ अर्थात १९ जनाको दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ । १८ सदस्यका लागि आज मतदान भइरहेको हो ।
राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो । अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्नेछन ।
राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत गरी कुल मतदाताको संख्या २ हजार ५६ छ ।