काठमाडौं, ७ माघ । नेपाल भ्रमणमा रहेकी बेल्जीयमकी राजकुमारी अष्ट्रिडले मंगलबार भक्तपुरका बिभिन्न सम्पदाको अवलोकन गर्नु भएको छ ।
मंगलबार बिहान भक्तपुर दरबार क्षेत्रमा पुगेर राजकुमारी अष्ट्रिडले भक्तपुरका बिश्व सम्पदा क्षेत्रमा सूचीकृत बिभिन्न सम्पदाहरुको अवलोकन भ्रमण गर्नु भएको हो ।
उहाँलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले भक्तपुरमा स्वागत गर्नु भएको थियो । दरवार क्षेत्रमा रहेको चित्रकला संग्राहलयमा लगाईएको टेका, गोल्डेन गेटकाबारे राजकुमारी अष्ट्रिडको जिज्ञासा नगरपालिकाका कर्मचारीले मेटाएका थिए ।
दरवार क्षेत्रका सम्पदाको अवलोकन पछि उहाँले पाँच तले मन्दिर पुगेर भक्तपुरका बिभिन्न नाच देवी प्याँख, कवाञ्चा प्याँख, ख्या प्याँख, सिंह प्याँखको अवलोकन गर्नुभयो ।
राजकुमारी अष्ट्रिडले भक्तपुरमा झन्डै दुइ घन्टा समय बिताउनु भयो । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाइरहेको बेला भक्तपुरमा भएको यो उच्च स्तरीय भ्रमण हो । भक्तपुर नगरपालिकाले देखाएको आतिथ्य प्रति मन्त्री भट्टराईले नगरपालिकाका परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।