एक/दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्नु हुँदैन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

एक/दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्नु हुँदैन : अर्थमन्त्री

काठमाडौं, २३ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले एक/दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्न नहुने बताउनुभएको छ ।

नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै अर्थमन्त्री खतिवडाले एक/दुई वटा वस्तुको निर्यातमा भन्दा वस्तु विविधिकरण गरी निर्यात बढाउनुपर्ने बताउनुभएको हो।

उहाँले खास वस्तुमाथि केन्द्रीत भएर बहस गर्नुभन्दा बढी मुल्य आउने वस्तु उत्पादनमा जोड दिई निर्यात बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको हस्तकला, कृषि उत्पादनको निर्यात गरेर केही अर्बमा मात्र व्यापार हुने बताउँदै खर्बौंमा निर्यात गर्ने सोच बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसका लागि कच्चा पदार्थ आयात गरी बढी मुल्य जोडी निर्यात गर्न सकिने वस्तु उत्पादनमा व्यवसायीहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । यसबाहेक केही प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादन हुने वस्तुको निर्यातमा समेत लाग्नुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निर्यातजन्य वस्तुमा सहयोग दिएको अवस्थामा पनि उत्पादन बढ्न नसक्नुको कारण खोज्नुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्या रहेको बताउनुभयो । निर्यात पछि पनि भुक्तानी लिन लामो समय लाग्ने भएकाले डिजिटल भुक्तानीको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कुनैपनि उद्योग मार्जिनबाटै चल्ने भएकाले बढी भ्यालु जोडिने वस्तुको उत्पदनमा जोड दिनुपर्ने र निर्यातलाई तिब्र रुपमा बढाउनुपर्नेमा जोड दिइएको थियो ।