काठमाडौं, १७ पुस । राष्ट्रियसभाले सीमा समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहिबार सीमासम्बन्धी विषयमा सत्तारुढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईं समर्थक रहेको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गर्दै उक्त निर्देशन दिएको हो ।
राष्ट्रिय सभा बैठकले सीमा समस्या समाधानमा कूटनीतिक पहललाई सशक्त बनाउन र उच्चस्तरीय राजनीतिक पहल गर्न निर्देशन दिएको हो । बैठकले सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभूतपूर्व एकता कायम राख्न, नेपालको सम्पूर्ण सीमाहरुमा देखिएका समस्या समाधान राष्ट्रिय सहमतिका साथ गर्न र भारतसँगको सीमा समस्या निश्कर्षमा पुर्याउन पनि निर्देशन दिएको छ ।
संकल्प प्रस्तावमाथि छलफल गर्दै सांसदहरुले सीमा विवादका विषयमा देशभित्र राष्ट्रिय एकता रहेकाले सरकारले यही मौकामा समस्या समाधान गर्नुपर्ने बताएका थिए ।सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमामा समस्या रहेको स्वीकार गर्दै वार्ताका लागि तयार रहेको जनाउ दिएको उल्लेख गर्नुभयो ।
नेपाल सरकारले कूटनीतिक नोटमार्फत गत नोभेम्बर २३ मा वार्ता गर्ने भने पनि भारतले उक्त मिति नाघिसकेपछि मात्र नेपाललाई पत्राचार गरेको थियो ।
अहिले नेपाल र भारत दुबै पक्षलाई अनुकुल हुने वार्ताको नयाँ मिति तोक्ने तयारीमा रहेको परराष्ट्रमन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो ।